कविता- बफादार कुकुरहरु

बफादार कुकुरहरु

एक रात, किर्तिपुर पाँगा दोबाटोमा
एक हुल कुकुरहरु
मरुन्जेल भुक्दै थिए
म डराए, चोरहरु आएछन् क्यारे
अरे ! कुकुरहरु त टाटेपाटे रङ्गका लुगा लगाएका
डण्डाधारीहरुलाई पो लखेटिरहेका रहेछन् ।

एक साँझ, बानेश्वर चोकमा
एक हुल कुकुरहरु
मरुन्जेल भुक्दै थिए
म डराए, डाँकाहरु आएछन् क्यारे
अरे ! कुकुरहरु त सेतो नम्बर प्लेट भएका
गाडीहरुलाई पो पछ्याउँदै रहेछन् ।

एक विहान, टि.यु गेटमा
एक हुल कुकुरहरु
मरुन्जेल भुक्दै थिए
म डराए, फटाहहरु आएछन् क्यारे
अरे ! कुकुरहरु त विश्वविधालय तिर जादै गरेका
चस्मा लगाएका बुढाहरुलाई पो झम्टिदै रहेछन् ।


भिम भट्टराई
किर्तिपुर

Comments