कथा-बाल मस्तिष्क र शहरी दशैं



काठमाडौको कोटेश्वरमा बस्ने गोकुल शर्मा र निर्मला शर्माको एक्लो छोरा कुशल यसपालिको भदौमा ७ बर्ष पुरा भएर ८ मा लागे । गोकुल शर्मा कास्की जिल्लाका पुर्व जिल्ला प्रमुख हुनुको साथै हालका मन्त्रालयका सहसचिव समेत हुन् । शर्मा जी सरकारी जागिरे भएको कारण कुशलको वालापनले ग्रामीण बालबालिकाको तुलनामा आभाब र बाध्यताको छायाँ समेत देख्नु परेन । कुशलका लािग उनको ६ आनामा फैलिएको कम्पाउण्ड सहितको घर, उनको सातदोबाटो स्थित श्री मोरल बोर्डिङ स्कुल र उनलाई स्कुल लाने र घर ल्याउने पहेलो गाडी नै संभवत उनले देखेको संसार हो । यी बाहेक उनको संसारमा अरु केहि अटाउँछ भने त्यो हो उनका मम्मी ड्याडीले सपिङ गर्दा उनलाई लाने गरेको भाटभटेनी सपिङ कम्पेक्स र विदामा घुम्न जाने गरेको भृकुटी मण्डप जुन उनलाई अन्यन्तै रमाईलो लाग्छ । उनले टि.भी मा नियमित रुपमा हेर्ने गरेको "अगि एण्ड द कोकरोज" र "बाल हनुमान" पनि उनको सानो संसारका थप हिस्साहरु हुन् ।
         उमेरको वृद्धि संगसंगै कुशलको चेतनाको स्तरपनि अलिक फराकिलो भएछ क्यारे, गत साता शर्मा जी र निर्मलाको सानो झगडा हुदाँ निर्मलाको साह्ै मन दुखेकाले उनी धेरै बेर सम्म सुँक्क सँक्क गर्दै बसिन् । यी सब कुरालाई नजिक बाट नियालिरहेका कुशललाई मनमा के आयो कुन्नि, ड्याडीको अगाडी गएर बाल धम्की पुर्ण आवाजमा भनेछन्, “मम्मीलाई किन रुवाउनु भएको ?, मावलको हजुरबुवालाई भन्दिन्छु ।” आजभोली कुशलको स्वभावमा अलिक फरकपना महशुस हुन्छ । एउटै कुरालाई भिन्न भिन्न तरिकाबाट प्रश्न गरिरहन्छन् । आफुलाई चित्त बुझ्दो उत्तर नपाएपछि अध्यारो मुख लगाएर घण्टौं सम्म एक्लै बसिरहन्छन् । बिस्तारै कुशलले पनि संसार बुझ्न थालेछन् जस्तो देखिन्छ जुन संसार उनको कपाउण्ड सहितको घर, पहेलो बस र मोरल स्कुल भन्दा बिल्कुलै फरक छ ।
         “मम्मी मम्मी दशैं भनेको के हो ?” पहेलो गाडीबाट उत्रेर घरको गेटबाट भित्र छिर्ने वित्तिकै उनले निर्मलालाई साधे । निर्मलाले केहि बोल्न नपाउँदै उनले फेरी थपे, “दशैं विदाको लागि भनेर मिसले थुप्रै होमअर्कहरु दिनु भएको छ ।” निर्मलाले टार्दै भनिन्, “आउँदो आईतबारबाट दशै शुरु हुन्छ तिमीले आफै थाहा पाई हाल्छौ नि । पहिले मिसले दिनु भएको सबै होमअर्कहरु त गरिसक । ” कुशल केही बोलेनन् । 

         उमेरका कारणले होला कुशललाई गत बर्षको दशैंको केही पनि स्मरण छैन । अलिक बुझ्ने भएपछिको यो पहिलो दशैं हो उसका लागि । अझै भन्नुपर्दा कुशल र दशैंको यो पहिलो भेट हो । त्यसअर्थ पनि यसपाली कुशलका लागि दशैं महत्वपुर्ण छ । विधालयले दशै विशेष आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कुशलले दशैको विषयमा धेरै कुरा सुनेको छन् । कार्यक्रममा बाल्ने क्रममा प्रिन्सिपल सरले “दशै भनेको नेपालीहरुको महान चाड हो ।” “यसको छुट्टै धार्मिक महत्व छ ।” “यो असत्य माथि सत्यको विजय हो ।” यस्तै यस्तै । निर्मलाले आईतबार देखि दशैं सुरु हुन्छ भनेकाले कुशलले शनिबार साझै नै आफ्ना सम्पुर्ण होमअर्कहरु सकेर दशैको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । 


         आईतबार घटस्थापना थियो । निर्मलाले विहानै दुध र कुकिज दिदै कुशललाई जानकारी दिईन्, “आज घटस्थापना हो आज बाट दशैं सुरु भयो ।” निर्मलाको वाक्य पुरा हुन नपाउँदै कुशलले प्रश्न गरिहाल्यौ, “घटस्थापना भनेको के हो मम्मी ?” “दशैंको पहिलो दिन”, निर्मलाले सहज उत्तर दिईन् । यति भनेर निर्मला भान्सा तिर गईन् । निर्मलाको सहज उत्तर कुशललाई अधुरो लाग्यो । अधुरो यस अर्थमा लाग्यो कि उसले शुभकामना आदानप्रदान कार्यक्रममा दशैंको विषयमा अझ धेरै कुरा सुनेका थिए, जुन कुरा निर्मलाको अधुरो जवाफले समेट्न सकेन। दिनहरु वित्दै गए । कुशलले प्रसंग अनुसार निर्मलालाई दशैंका विषयमा प्रश्नहरु सोधिरहन्थ्यो । निर्मला पनि साविक  झै पुच्छ्रे उत्तरले टार्दै जान्थिन् । अन्ततगोत्व कुशलले आफ्नो पहिलो दशैं  सम्पुर्ण रुपमा मनायो ।

          पातला लुगालाई शरिरबाट र पातला सिरकलाई विस्ताराबाट बाक्ला लुगा तथा सिरकले विस्थापन गरे संगै एक महिना सम्मको लामो दशै तिहार बिदा पनि सकियो । पुन स्कुलहरु लाग्न थाले । स्कुल लागेको पहिलो सातामा नै श्री मोरल बोर्डिङ स्कुलले “दशैं” शीर्षकमा निबन्ध प्रतियोगिताको आयोजना गर्यो । जसमा हाम्रो कुशल पनि सहभागी बन्यो । तोकिएको मिति र समयमा विधालयले निबन्ध प्रतियोगिता संचालन गर्यो जसमा हाम्रो कुशलले दशैंलाई ५ वटा वाक्यमा यसरी प्रस्तुत गरे । 
१) दशैंमा एक महिना सम्म स्कुल विदा हुन्छ । 
२) दशैंमा सबैले नयाँ लुगा लगाउनु पर्दछ । 
३) दशैं धेरै चिचि खानु पर्ने पर्व हो । 
४) दशैंमा ड्याडीले छिमेकी अंकलहरुलाई बोलाएर दिनभरी तास खेल्नु पर्छ । 
५) सबै आआफ्नो घर गएपछि फेरी मम्मी र ड्याडी संगै बसेर रक्सी र मासु खानु पर्छ । 


भिम बाबु
किर्तिपुर

Comments